| तमु जातिको संक्षिप्त ऐतिहासिक झलक |
|
|
|
| Written by Administrator |
| Thursday, 25 December 2008 16:13 |
|
पच्यु, पैँडी चिब यारजङ क्रोँम्छैँ तमु र भोवर पाल्जें तमु (बर्नार्ड पिग्नेडको छोटो समयमा ठूलो फ्रेन्च पुस्तकको काठमाडौंमा प्रकाशित अंग्रेजी संस्करण द गुरुङ्समा संलग्न आखिरी अपेन्डिक्सको अनुवादित रूपान्तरण) तमु वोन धर्म अन्तर्गत प्येताँ ल्हुताँ (शास्त्र तथा संस्कृति)मा वर्णित पौराणिक कथा, उपाख्यानहरूमा तमु जातिको ऐतिहासिक दर्पण संरक्षित छ । यी मौखिक प्ये (शास्त्र)हरू तमु पुरोहितहरू पच्यु र क्ल्हेप्रीले टिबेटो बर्मन भाषा परिवार अन्तर्गतका भाषा च्वों क्युई (शास्त्रीय भाषा ) र तमु क्युई (बोलीचालीको भाषा) मा पढ्दछन् । तमु धर्म शास्त्रमा तमु सभ्यताको शुरुवात देखिका कुराहरू समाबेस भएको पाइन्छ । त्यसमा मानव श्रृष्टि र प्रयोग गरिएका सामग्रीहरूको उल्लेख गरिएको समेत पाइन्छ । तमु खेगी (पुरोहित)हरूले त्हेँ(यज्ञ) गर्दा अझै पनि केही पौराणिक सामग्रीहरू प्रयोग गर्दछन् । लामो समय ब्यतित भए तापनि ती शास्त्रहरू परिवर्तन भएको देखिदैन । तिनले तमुहरूको पूर्खा अजि खे (खेकु, नौ जिज्यूहरू), अजि मा (माङि, सात जिज्यूनीहरू ) र आवा कारवो क्ल्हे, शक्ति गुरुहरू, देव देबीहरू इत्यादि बारे जानकारी दिलाउछन्। जसमा परम् प्रभु क्ल्हेसोदी प्ह्रेसोदीको साथै अन्य शक्तिशाली गुरुहरू पक्रे क्ल्हे र छयोपको आराधना गरिन्छ । तमु शास्त्रले कसरी पहिले ठूलो ताल छेउको च्वों गाउमा बस्ती बस्यो जहा पहिलो अन्न जौ उमारिएको थियो भन्ने बताउछ । पछि कोही बसाईं सर्ने क्रममा स गाउ, त्हो गाउ, सि गाउगर्दै दक्षिणको गरम उर्बर गाउ क्रोंमा फिजिए । अनि उत्तरको च्वों गाउमा च्वोंभाषामा धार्मिक क्रियाकलाप बढ्यो भने तमु भाषा बोलिने दक्षिणको क्रोगाउमा कृषिजन्य क्रियाकलाप बढ्यो । यी दुई उत्तरी र दक्षिणी गाउ बीचका अन्य गाउहरूमा यी दुवैको मिश्रित प्रगति भयो । तमु शास्त्रमा आगोको अविस्कार, ढ्याङ्ग्रोको निर्माण आदि जस्ता थुप्रै अनि प्राचीन कथाहरू वर्णित छन् । तमु जातिको परापूर्खा माङि र खेकुले क्रमश ७ ताल र ९ चुचुरोको प्रतिनिधात्मक संज्ञा दिए जस्तो पनि लाग्दछ । प्रमाणित आधार नभए तापनि प्येताँ ल्हुताँमा वर्णित शुरुको च्वों गाउ परम्परागत कथनसग मिलाएर हेर्दा पश्चिम मंगोलियाको तीन पहाडी श्रृंखला बीच सातवटा ताल रहेको क्षेत्रमा पर्ने अनुमान हुन्छ। त्यसको दक्षिणमा शुरुको क्रोँ गाउँ तिब्बतको उत्तरमा, पश्चिम चीनको सिकियाङ प्रान्तको हो चिएको तुफान नामक क्षेत्रमा पर्ने आभास हुन्छ । ठूला तालहरूलाई मंगोलियामा नूर, पश्चिम चीनमा नोर र तिब्बतमा च्वों भनिन्छ ।तमु परम्परामा एक ठाउबाट अर्को ठाउँमा बसाई सर्दा अघिल्लो ठाउको परिवेश जस्तै देखिएमा नया ठाउँलाई पनि पुरानै नाम राखिने चलन थियो । मानिस मरेपछि उसको मृतात्मा पहिले क्होकुली म्हर्स्यो नामक तालको पानी मुनी जान्छ भन्ने विश्वासको कुरा तमु शास्त्रले भन्छ । तिब्बतको उत्तरपूर्व, चीनको क्वीन्घाई प्रान्तमा बीचमा टापु भएको अति ठूलो ताल गण्डकी अञ्चल जत्रो क्षेत्रफल भएको कोकोनोर (चिनघाई) पर्दछ । यो पश्चिम मंगोलियाको सातवटा तालमध्येको हारा उसा नुर जस्तै बीचमा टापु भएको ताल छ र यस नजिकका ठाउहरूको नाम आखिरीमा च्वों शब्द जोडिएको छ । जस्तैः लान्चो, लियाङ्चो, कान्चो, सुनचो आदि । ती नामहरू तमु शास्त्रमा वर्णन गरिएको च्वों नामक गाउको शब्दबाटै नामाकरण भएको प्रतीत हुन्छ । त्यस्तै गरी त्यहा देखि दक्षिणतिर स नासा, त्हो नासा, सि नासा र क्रों नासा नामक ठाउहरू क्रमश चीनका प्राप्तहरू क्वीन्घाई, कान्सु, सिचुआन र युनानमा पर्ने हुनसक्छ । चीनको अल्प संख्यक समुदाय मध्येको टु जाति लान चो वरिपरि बस्दछ र नाक्सी जाति सिचुआन र युनान प्रान्तमा बस्दछ । तमुका दुईवटा थरको नाम पनि टु र न्हान्सी भनिन्छ । पहिलो तिब्बतीहरू तिब्बतमा पूर्वी सीमाका क्वीन्घाई, कान्सु, सिचुआन, युनान प्रान्तहरूबाट प्राचीनकालमा प्रवेशिएको हुनु पर्दछ । पछि तिब्बतमा हान जातिका मानिसहरू भित्रिए । सीमान्त क्षेत्रका जातिहरूको निमित्त पूर्वी तिब्बतमा रहेको चाम्डो (छ्याम ट्हो राम्रो गाउ) नै प्रवेश र्ार भएको देखिन्छ । चाम्डो नजिक कारो नामक ठाउ मा प्राचीन मानव बसोबास ४,६०० वर्ष भन्दा पहिले भएको भन्ने कुरा प्रमाणित भैसकेको छ । हानहरूले त्यहा फापर उमारेकोले त्यसलाई खाम भनियो । सम्भवत तेस्रो प्रवेशी समूहको रूपमा म्हिन कुगी (तमु) हरूले त्यहा हानहरूलाई बसाई सराईको पालो दिए । त्यसबेला त्यो ठाउ व्यापक पशुपालन क्षेत्र र महत्वपूर्ण व्यापारिक स्थल पनि भैसकेको हुनसक्छ । चाम्डोबाट म्हिन कुगीहरू पश्चिम ल्होका क्षेत्रको यार्लुङ उपत्यकातिर लागे । त्यहा १०००बी.सी.तिर तिनीहरूलाई प्रचलित रूपमा तमु भनेर चिनियो र समयको अन्तरालमा पच्यु पुरोहित रहेको वोन धर्म (बुद्ध धर्म भन्दा अघिको) फस्टायो । त्यहा बाट केही पुरोहितहरूले च्वों नासा (गाउ ) तिर तीर्थाटन गरेको हुन सक्छ । तमुहरूको अर्को समूह ल्होकाको पश्चिमतिर बसाई सरेको हुनु पर्दछ । ल्होका क्षेत्रमा चेताङ ठाउ नजिक चन्ताङ गोसी भन्ने डाँडा छ । पच्चिस सय वर्षअघि त्यहा तिब्बती इतिहासमा वर्णित न्या (त्रि) चन (पो)सगको ऐतिहासिक भेट र तमु शास्त्रमा उल्लेखित न्ह चन (लम्बिएको कान वाला)को कथा ठ्याम्मै मेल खान्छ, एकै हो । गोठालाहरूले भेटेको एक्लो बलियो न्ह चन उनीहरूसगै मिलेर गाउमा बसे । उनले गाउलेहरूको खतरापूर्ण गाह्रो कामहरू सघाए । पछि उनलाई नोचन ह्रोँले चिनियो । उनलाई चाफि पामि्रस्यो कन्यासग विवाह गराई दिए । उनका सन्तानहरूलाई कोन्म थर भनियो । १०० बी.सी.तिर पच्युहरूमध्येबाटै क्ल्हेब्री (क्यार वो)को उदय हुनु अघि नै यता तमुहरू मुस्ताङ क्षेत्रमा बसोबास गरिसकेको हुनसक्छ । उता चनपो राजपरम्पराको ३३ औं शक्तिशाली राजा स्रोङचोन गम्पो (६२९ - ६५० इ.सं.) को पालामा तिब्बत एकीकरण भयो र ल्होकाको राजधानी साङपो नदी पारी उत्तरतिर ल्हासामा सारियो । त्यस ताका पूर्वी सीमा क्षेत्रका थुप्रै मानिसहरूलाई सैनिक पेशामा भित्र्याइयो । वोन परम्पराको साथसाथै बुद्ध धर्म (लामावाद होइन) अंगालियो । पछि आठौं शताब्दीमा भारतीय बज्रयानी गुरु पद्म सम्भवले निग्मापा शाखाको लामावाद स्थापना गरे । उनले महायानी बौद्ध, वोन विश्वास (पञ्चदेव), हिन्दू संस्कार (गरुड पुराण) र बज्रयानी तन्त्रमन्त्र मिसाएर तिब्बती बुद्ध धर्म अर्थात् लामावाद लोकप्रिय बनाए । तिब्बतीहरूले बुद्धलाई भन्दा बढी उनलाई ॐ मनि पद्म हु भनी पूज्न थाले । राज्यसत्ताको आडमा लामावादीहरूले वोन्पोहरूलाई दबाब बढाए तापनि तिब्बतमा तेह्रौं शताब्दीसम्म वोन धर्मको प्रभाव बलियो रह्यो । जे भए तापनि स्रोङचन गम्पोको पाला भन्दा धेरै शताब्दी अघि तिब्बत छाडिसकेको हुनाले तमु वोन पुरोहितहरूले पढ्दा उनको बारेमा उल्लेख गरिएको पाइदैन । तिब्बतको बुद्ध धर्म अघिको वोन धर्म प्रकृतिवादको धेरै उन्नत रूप थियो । त्यो अझै पनि प्येताँ ल्हुताँको नाममा तमु पुरोहितहरूमा संरक्षित छ । जिउदो मानिसहरूको निम्ति पाठ भए जस्तैः आत्मा, परमात्मा, देवदेवी, द्यौरालीहरूसग सम्बन्धित पूर्खाहरूको प्रायोगिक अनुभव र अनुभूतिको आधारमा पुरोहितहरूले बोक्सी, भूतप्रेत आदिको शक्तिलाई दमन गर्ने कुरासग यो सम्बद्ध छ । वोनवादले सम्पूर्ण जगतलाई तीन लोकमा बाडेको छ । मानिस मरे पछि उसको मृतात्माले लास छाड्छ र स्वप्नमय अदृश्यरूपमा रहन्छ भन्ने विश्वास गरिन्छ । पै (अर्घुं) यज्ञ गर्दा पुरोहितहरूको भूमिका मृतकको आत्मालाई पयमा गाइने स्यर्का गीतमा उल्लेखित मार्ग पछ्याउदै तिब्बत पार गरी क्वीन्घाई तिर पुगी उडाएर परापूर्खाको ठाउ , तरगी ल (खेमा नास/स्वर्ग)मा पुर्याई पितृसग लीन गराई दिनेहुन्छ । तिब्बती पौराणिकतासग मिलाए अनुसार वोनवादको वर्गिकरण १. नम वो (डोल वा कालो वोन) : पौराणिक पुरोहित पच्यु तमु जातिमा पच्यु सबभन्दा पुरानो पुरोहित मानिन्छ । यसको शुरुवातको मिति भेटिंदैन । समयको अन्तरालसगै विकासको क्रममा पछिल्ला पूर्खाहरूको कथा जोडिएर पच्युहरू हागिएको हुन सक्छ । सन् १०० बी.सी.तिर ल्होकामा राजा डिरगम चन पो (न्यात्रि चन्पोको सातौं पुस्ता) को हत्या भएपछि केही डोल वोन पुरोहितहरूबाटै क्यार वोन शाखाको शुरुवात भयो । डि्रगमको हत्यारा (लोङम डाजी)को बद्ला लिने उद्देश्यले उनका खलकले पश्चिम ङारी, ड्रुसा र सासु क्षेत्रबाट केही वोन पुरोहितहरू र चलाख मानिसहरूलाई गोप्यरूपले निम्ताएको थियो । पछि सम्थव ङोन्पो नामक वोन्पो विर्ान्ले बौद्ध दर्शन भन्दा भिन्न छ वटा सिद्धान्तहरू बोध गराएर तिनलाई प्रचलित वोन धर्ममा समावेश गरी त्यसलाई पूर्णताकोरूप दिए जसलाई क्यार वोन भनियो । त्यसैताका पहिलो चन्द्रमास पात्रोको शुरुवात गरियो । त्यस प्राचीन पात्रो अनुसार ल्होसार वर्षको दिन पुस १५ मा मनाइन्छ, जुन नेपालको तमु जातिमा अद्यावधि प्रचलित छ र त्यही दिनतिर तिब्बतको सिगाचेका ठाउहरूमा पनि मनाइदैछ । अचेल तमु समाजमा चौंथौ पुरोहितको रूपमा विशेष प्रकारको महायानी लामाको उदय भएको पाईन्छ । जसमा केही तेस्रो पुरोहितहरू पनि परिवर्तित भएका छन् । मुख्य यज्ञहरूमा क्ल्हेब्री र वोन्पो लमलाई पच्युको साथ चाहिन्छ । तर नया लामालाई तिनीहरू चाहिदैनन् । उनीहरू आफूलाई बुद्धकै आशीर्वाद पाए जस्तो कुरा गर्छन् तर बौद्ध ग्रन्थ बारे त्यति ज्ञान पाएको देखिन्न र यी तमु लामाहरू देखेर तिब्बती लामाहरू विवेचित छन् । जे भए तापनि उनीहरू कम शिक्षित समाजमा प्रभाव जमाउन समर्थ भएका छन् र त्यस परिणामले हाल वोनवादीह रू र बौद्ध मार्गीहरू दुवै थरीलाई असर परेको छ। तमुहरूको पौराणिक कथाहरूलाई नियाले अनुसार बागमती अञ्चलमा तामाङहरूको बसोबास शुरु हुने बेला तमुहरूले ई.पू. पहिलो शताब्दीतिर मुस्ताङमा बसोबास गरेको बुझिन्छ । यी दुई समूह आजभन्दा झण्डै तीन हजार वर्ष पहिले तिब्बतमा छदै छुटेको हुनु पर्दछ । मुस्ताङमा पच्युको निम्ति फलिप्रो म्हार्स्यों र क्ल्हेब्रीको निम्ति लिप्रो म्हार्स्यों गरी दुई क्होइवो (गुम्बा)हरू थिए । तमुहरू शिकार खेल्न जंगली जनावरहरू पछ्याउदै लामो दूरीसम्म पुग्ने गर्दथे। अनि नया ठाउहरू राम्रो लागेमा बसाई सर्दथे । उनीहरू मनाङमा मर्स्याङ्दीको किनार छेउ बसाई सर्दा त्यहा को पहिलो तमु गाउले प्रमुखलाई पछिकाले आफ्नो पनि क्ले (अधिपति) माने । उनका सन्तानहरूलाई क्ले (घले) भनिएकोले तमु जातिमा नया थर थपिन गयो । यस्तै स्थिति र स्थानबाट पहिलेको पुरानो थरबाट धेरै नया थरहरू प्रचलित भएका छन् । मनाङबाट सन् ५०० तिर केही तमुहरू शिकार खेल्दै उत्तरी भेकबाट अन्नपूर्ण श्रृंखलापार गरी दक्षिणी भेकमा आएका थिए । तिनीहरूले त्यो लेकाली भूमि मन पराएकोले त्यहा केही अन्नको बीउ छरेर फर्के दोस्रो पटक आउदा त्यहा उनीहरूले सप्रेको बाली पाए । तेस्रो पटकमा तीनवटा थरका तमुहरू त्यहा आएर तीन समूहमा बस्ती बसाली क्होल सोप्रे ट्हो (गाउँ) नामाकरण गरे । हिमाल वारि दक्षिणी भेकमा यो तमुहरूको पहिलो ऐतिहासिक गाउँ थियो र एकताबद्ध आखिरी गाउँ पनि भयो । त्यस पछि मनाङ मुस्ताङबाट अरु तमुहरू पनि यता बसाई सर्दै आए । मुस्ताङमा बाकि रहेका तमुहरू पछि थकाली (ताम्हा) बने । क्होलमा प्येताँ ल्हुताँ (ठेट वोनवाद)को पुनरावलोकन भयो । शताब्दियौं लामो बसाई सराईको सन्नाटा पछि त्यहा केही सामयिक अध्यायहरू थपिए । मंगोलाइड आकृतिका तथा टिबेटो वर्मन भाषी तमु जातिका मानिसहरूले त्यहा त्यति बेलातिर आफ्ना शास्त्र, संस्कार, अर्घुं, कूलपूजा, यज्ञ, पार्क, ल्होसार, ढुकोर, रोदी आदि तथा संस्कृति र परम्पराको सुधारको निम्ति प्रयास गरे । यी जातीय विशेषताहरू हिन्दू आर्य जातीयता भन्दा पूर्णत भिन्न छन् । मनाङ जिल्लाको मध्यउत्तर भागमा पर्ने नारमा पछि आएका तिब्बती वोन्पो लमसग पुरोहित्याइ सिक्न चिलि (सिक्लिस) बाट कोन्म थरका केही तमुहरू गएको बारे एक पौराणिक कथन छ । त्यहा बाट फर्कंदा सिकलाई पूरा भएकोलाई लम र नभएकोलाई लेम भनियो । तब कोन्महरू आ आफ्नो धेरै नजिकका भाइहरू समेटिएर कोन(नगएकाहरू) लम र लेम गरी तीन उपथरमा बाडिए । वोन्पो लम अनुयायी लम र लेमले पच्यु, क्ल्हेब्री अनुयायी कोनसग वैवाहिक सम्बन्ध गास्न थाले । वास्तवमा यी तीनै उपथरका सोंगीहरू एकै पूर्खाका सन्तान हुन् । यस बाहेक उनीहरूले आफ्नो दरिलो समूह बनाए । पछि चिलिको सामरी क्ले (घले) राजाको पालामा लम र लेमले घलेका छोरीहरू विवाह गरे भनिन्छ । पूर्खा बेग्लै भए तापनि कोनले घलेसग मुसेर दाजुभाइको नाता कायम राखी परम्परा बद्लेन । वोन्पो लमद्घारा गुरु भन्ने उच्च सम्मानको शब्द परिभाषित भयो र पछि अरु जात, जातिबाट भिन्न पहिचानको रूपमा तमु शब्द कम प्रयोग भई गुरुङ शब्द प्रचारित भयो । |
Login Box
Archive
Design Variations
Available Styles :
Available Font Family : Arial Verdana Tahoma Trebuchet Georgia Optima Times New Roman Lucida Lucida Sans
Available Font Size :
![]()
A PSD templete file will be provided if you wish to add a new design style for this website.
प्येताँ ल्हुताँ लेखहरु
| ''सिमिं'' (मृतक) को लागि जान्नै पर्ने संस्कारहरु 06/03/2009 | Netra tamu जस्तोसुकै युग र बैज्ञानिकहरुको अविस्कार भए पनि जन्म र मृत्युलाई कसैले रोक [ ... ] |
| बेलायतमा तमु क्ह्वोइडुलु मार (श्रावण संक्रान्ति) चाड 25/12/2008 | Administrator जन्मदेखि मरणसम्मका संस्कार र परम्परा तथा प्राचिन पौणीरक जातिया सांस्कृति [ ... ] |
| मे त्हलें दिवस सम्पन्न 24/01/2009 | Geeta Chahkli Tamu मे त्हलें दिवस सम्पन्न |
| Kwhohidulu Mara 23/12/2008 | Administrator [Shrawan Sankranti] Celebration by UK Branch According to the Heritage culture of the tamu, Paus 15 (Lhosar), Maghe Sankranti(Head of the Summer/Rainy Session), Phalgun Purnima, Three Tuesday in Chait [ ... ] |
| Other प्येताँ ल्हुताँ Articles |



Comments