|
फार्नबरो ३० डिसेम्बर २००९ बुधबार

तमु प्ये ल्हु संघ युकेले तमु ल्होकोर अनुसार यस बर्ष तो ल्हो (बाघ बर्ग) आगमनको शुभ अवसरमा तो-ल्होसार मनाउनको लागि आयोजित तो-ल्होसार महोत्सव भव्यता पुर्वक सम्पन्न गर् यो । ओक फार्म कम्युनिटी हल फार्नबरोमा सम्पन्न तो-ल्होसार महोत्सव लाई भव्य रुपमा सफल बनाउन विभिन्न मिडियाहरु मार्फत प्रचार प्रसार गरिएको थियो ।
ल्होसार महोत्सवलाई सुगम र सहज बनाउन संघका अध्यक्ष जगत प्हच्यु तमुको प्रमुख संयोजकत्वमा तो-ल्होसार संयोजन मूल समिति गठन गरिएको थियो भने सल्लाहकार क्या. देवराज ङोप्छे तमु र उपाध्यक्ष सोम त्होर्जे तमु सह-संयोजक रहनु भएको थियो । महोत्सवलाई प्रभावकारी एवं सुविधायुक्त बनाउन कार्य विभाजन गरि विभिन्न काम बाँडफाँड गरिएको थियो जसमा सल्लाहकार क्या. डेम बहादुर योज तमुलाई साँस्कृतिक कार्यक्रम लगायत कलाकार संयोजन र भिडियो तथा फोटोग्राफको व्यवस्थाको जीम्मेवारी, सल्लाहकार ले. मदल प्ल्हें तमुलाई औपचारिक कार्यक्रम लगायत अतिथि स्वागत तथा सत्कारको जीम्मेवारी, डम्बर टु तमुलई धार्मिक कार्यक्रम लगायत धार्मिक सामाग्री प्रदर्शनी तथा संघको सर-सामान बिक्रीको जीम्मेवारी, धर्म कुप्छे तमुलाई स्वास्थ्य तथा सुरक्षा (हेल्थ एण्ड सेफ्टी) सुरक्षा (सेक्युरिटी) र पार्किङ्गको जीम्मेवारी, गीर बहादुर लइ तमुलाई टिकट बिक्री तथा चेकिङ्गको जीम्मेवारी अनि अमर त्होर्जे तमुलाई स्योँकै (खाना) तथा हल व्यवस्थापनको जीम्मेवारी दिइएको थियो भने वहाँहरुको प्रमुख नेतृत्वमा पर्याप्त मात्रामा पुरुष तथा महिला गरि करिब सत्तरी जना स्वयं सेवक सदस्यहरु परिचालन गरिएको थियो ।
महोत्सवलाई धार्मिक औपचारिक र साँस्कृतिक गरि तीन चरणमा संचालन गरिएको थियो । जसमा धार्मिक कार्यक्रम अन्तर्गत बिहान एघार बजेदेखि छ्योप त्हें (पूजा) गरि तो-ल्होको स्वागत र ल्वोँ-ल्होको बिदाई गरिएको थियो भने ल्हो आउने र जाने समयमा विभिन्न किसिमका अशुभ ग्रहदशाहरुले प्रवेश गर्न सक्ने भएकोले ती अशुभ ग्रहदशाहरुबाट मुक्ति दिलाउन पार्क त्हें गरिएको थियो साथै ती नराम्रा ग्रहदशा अर्थात थाः पन्छाउनको लागि थासों फाल्ने त्हें गरिएको थियो । यसरी पच्यु देव गरब्जको संयोजनमा छ्योप त्हें, पच्यु पैंडी चिवा यारजङ्ग क्रोम्छेको संयोजनमा पार्क त्हें र क्ल्हेप्री चिव मिन टुको संयोजनमा थासों फाल्ने त्हें गरी सामुहिक रुपमा तीन किसिमका त्हें एकै पटकमा गरिएको थियो । धार्मिक पूजामा अन्य खेगीहरु पच्यु जीत क्रोम्छे तमु, पच्यु कृष्ण बहादुर ल्हेंगे तमु, पच्यु मन प्रसाद क्रोम्छे तमु, पच्यु बुद्धीमान कुप्छे तमु, क्ल्हेप्री चिवा दान म्होब्छे तमु र हिरा म्होब्छे तमु सरिक हुनु हुन्थ्यो । तमु खेगीहरुको बाक्लो संख्याको कारणले नै बेलायतमा यस्तो सामुहिक यज्ञ (पूजा) गर्न सफल भएको हो । पूजा सकिएपछि धर्म गुरुहरुबाट उपस्थित भक्तजनहरुलाई रुप (प्हैरु) लगाई दिने र प्रसाद (कैंदुँ र फलफुल) बितरण गरिएको थियो । उपस्थित भक्तजनको भिडलाई रुप (प्हैरु) लगाई दिन सबै खेगीहरु निरन्तर लागि पर्दा पनि दुई घण्टाभन्दा बढी समय लागेको थियो । उक्त रुप (प्हैरु) लगाई दिदै गरेको दृश्यले भक्तजनहरुमा तमु खेगी र त्हेंप्रति विश्वास बढ्दै गएको पुष्टी गरि रहेको थियो । स्थापनाकालको शुरु-शुरुमा राम्रो जानकारी नहुनुको कारण भक्तजन तथा उपस्थित जन-मानसले रुप (प्हैरु) लगाउनप्रति त्यति रुचि राख्दैनथ्ये भने यसपालिको पूजामा अक्षता, फुल, फलफुल चढाउने तथा खेगीहरुसँग आशिष थाप्ने भिडले खेगी (धर्म गुरु) हरुलाई निक्कै व्यस्त तुल्याएको थियो । धार्मिक पूजा सकिएपछि रुप (प्हैरु) लगाई दिदै गरेको समयमा पच्यु गुरु तथा क्ल्हेप्री गुरुबाट त्हेंको बारेमा छोटो जानकारी गराईएको थियो । धार्मिक कार्यक्रमको सबै काम सकिएपछि दिउसो करिब चार बजेतिर संघको आजीवन सदस्यता ग्रहण गर्नु हुने आजीवन सदस्यहरुलाई बेलायत र केन्द्रिय समिति नेपालको आजीवन सदस्यता प्रमाण पत्र प्रदान गरिएको थियो भने महोत्सवमा परम्परात रुपमा खाईने स्योंकैं स्वरुप खानाको व्यवस्था समेत गरिएको थियो । खेगीहरुबाट प्हैरु लगाई आशिष थापिसकेपछि खाना खानको लागि फुड हल टनाटन भरिएको थियो भने उपस्थित भिडलाई खाना खुवाउनमात्र पनि पाँच घण्टाभन्दा बढी समय लागेको थियो । कार्यक्रमको समय तालिका अनुसार औपचारिक कार्यक्रम दिउसो पाँच बजेदेखि शुरु गरिने भएकोले प्रमुख अतिथि तथा अतिथिहरुलाई दिउसो चार बजेको समय दिएर निमन्त्रणा गरिएको थियो । औपचारिक कार्यक्रमको लागि प्रमुख अतिथिको रुपमा रसमोर बरो काउन्सिलका मेयर रोजर किम्बरलाई आमन्त्रण गरिएको थियो भने क्याम्ब्रिज युनिभर्सिटी र अक्स्फोर्ड युनिभर्सिटीबाट दर्जनभन्दा बढी प्रोफेसर (गोरा) हरुलाई अतिथिको रुपमा निमन्त्रणा गरिएको थियो । तमु जाति नेपालको आदिवासी मूल जाति भएकोले बेलायतमा स्थापित विभिन्न आदिवासी जनजातिका जातिय संघ-संस्थाहरु तथा बिएफबिएस गोर्खा रेडियो र एनआरएन बेलायतलाई पनि अतिथिको रुपमा उपस्थित भई दिन निमन्त्रणा पठाईएको थियो । जस अनुसार कार्यक्रममा सरमोर बरो काउन्सिलका मेयर रोजर किम्बर र वहाँको धर्मपत्नि अक्स्फोर्ड यनिभटीका प्रोफेसर डा. सान्द्रा हाउस्नर र श्रीमती फ्लोरेन्स तमु, क्याम्ब्रिज युनिभटीका प्रोफेसर डा. ओल्गा उल्तुर्गासेभा र वहाँकी साथीहरुको उपस्थिती रहेको थियो भने संघ-संस्थाको प्रतिनिधीहरुमा गोर्खा जिल्ला तमु समाज युकेका अध्यक्ष थम प्रसाद तमु, पैंयुखोला तमु समाजका अध्यक्ष क्या. डेम बहादुर योज तमु, तमु धीँ युकेका अध्यक्ष सुवासिङ्ग लेम तमु, एनआएन युकेका अध्यक्ष सूर्य तमु, मगर संघ युकेका अध्यक्ष थर्क बहादुर राना, ठकुरी समाज युकेका अध्यक्ष मे. धन बहादुर चन्द, युके शेर्पा किदुङ्गका अध्यक्ष आङ्गकल्जाङ्ग शेर्पा र बिएफबिएस गोर्खा रेडियो सेवाका प्रवन्ध निर्देशक तथा स्टेशन म्यानेजर खेम तमु र योगराज राई उपस्थित हुनु हुन्थ्यो । संघका अध्यक्ष तथा तो-ल्होसार संयोजन मूल समितिका प्रमुख संयोजक जगत प्हच्यु तमुको सभापतित्वमा सचिव भेग च्हाक्ली तमुले संचालन गरेको औपचारिक कार्यक्रमलाई प्रमुख अतिथि रसमोर बरो काउन्सिलका मेयर रोजर किम्बरद्धारा पानसमा बत्ती बालेर समुद्घाटन गरिएको थियो । समुद्घाटनको लागि पानसमा दिप जलनपछि राष्ट्रिय धुन बजाएर आफ्नो जन्मभूमि नेपाललाई सलामी चढाईएको थियो भने कार्यक्रममा धर्म कुप्छे तमुले हेल्थ एण्ड सेफ्टीबारे जानकारी, संघका उपाध्यक्ष तथा तो-ल्होसार संयोजन मूल समितिका सह-संयोजक सोम त्होर्जे तमुले स्वागत मन्तव्य र संघको सल्लाकार नर बहादुर टु तमुले शुभ कामना मन्तव्य दिनु भएको थियो भने धर्म गुरु पच्यु पैंडी चिवा यारजङ्ग क्रोम्छे तमुले शास्त्रगत प्ये बाचन गरि शुभाशिषमलाँ दिनु भएको थियो जसमा पच्यु जीत क्रोम्छे र बुद्धीमान कुप्छेले साथ दिनु भएको थियो । औपचारिक कार्यक्रममा विगत बर्षहरुमा जस्तै बधाई तथा प्रशंसा पत्र वितरण गर्ने लगायत अभिनन्दन गर्ने कार्यक्रमहरु पनि समावेश गरिएको थियो जसमा एनआरएन युकेको अध्यक्ष पदमा विजयी हुनु भएका समाजसेवी एवं एनआरएनका निवर्तमान उपाध्यक्ष सूर्य तमुलाई तमु मौलिक परम्परा अनुसार क्रेंगी (फेटा) ओढाई अभिनन्दन गरि बधाई दिएको थियो भने विभिन्न युनिभर्सिटीबाट उच्चशिक्षा (बिद्यावारिधी) हासिल गरेका छात्र-छात्राहरुलाई प्रशंसा पत्र एवं क्रेंगी-पछ्यौरी ओढाई स-सम्मान बधाई ज्ञापन गरिएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै रसमोर बरो काउन्सिलका मेयर रोजर किम्बरले भन्नु भयो - "तमु प्ये ल्हु संघ युकेले गरेको यो सम्मान तथा बधाई कार्यक्रम अति नै सराहनिय छ म यसबाट पूर्ण रुपमा प्रभावित भएकोछु र मलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरेर तमु जाति र तमु जातिको मौलिकता बारेमा बुझ्ने अवसर दिनु भएकोमा तमु प्ये ल्हु संघप्रतिमा आभारि छु ।" सभापतिको आसनबाट बोल्दै तो-ल्होसार महोत्सव मूल संयोजन समितिका प्रमुख संयोजक तथा संघका अध्यक्ष जगत प्हच्युले ल्होसार पर्व ल्होसार महोत्सवको औचित्य र यसलाई मान्ने मौलिक परम्पराबारेमा जानकारी गराउदै पौष १५ अर्थात ल्होसार पर्वकै दिनमा क्याट्रिकवासी र केन्टवासीले तमु तो-ल्होसार मनाएकोमा खुशी व्यक्त गर्दै केन्ट तमु समाजका अध्यक्ष गुन बहादुर तमुले पठाउनु भएको शुभ कामना सन्देश पढेर सुनाउदै दोस्रो चरणको औपचारिक कार्यक्रलाई समापन गर्नु भएको थियो । कार्यक्रमको अन्तिम तथा तेस्रो चरणमा धार्मिक तथा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । तमु वोन प्रार्थना गायनद्धारा शुभारम्भा गरिएको साँस्कृतिक कार्यक्रम निक्कै रमाईलो र मन्त्रमुग्ध थिए । संघका सचिव भेग च्हाक्ली तमु, विशाल प्हच्यु तमु, सुश्री लक्ष्मी प्ल्हें तमु र सुश्री चन्द्र क्रोम्छे तमुले संचालन गरेको साँस्कृतिक कार्यक्रममा समावेश गीत तथा नृत्यहरु सबै स्तरिय थिए । अझ पैंयुखोला तमु समाज युके र गोर्खा जिल्ला तमु समाज युकेले सहयोग स्वरुप सौजन्य गर्नु भएको नृत्यहरु मनमोहक एवं राम्रो थियो । कार्यक्रममा प्रस्तुत स्टेज गीतहरु पनि कम रौनकको थिएन । भूपाल तमु, हरिमान तमु, निराज तमु र गगन तमुको गीतले हल नै गुन्जयमान बनाएको थियो भने "चु नौलो नासरी रोधींरी खवा (तमु सालैजो)", "कति राम्रो अलि अलि ढल्किएको छाँया", "लाहुरे दाईले खुकुरी भिरेछ", "तले हो तले तेल तियाँ", "कति माया लाग्छ ढुंग्री मुन्द्री", "आयो ढल्काउदै झमझम स्टकोट" "आयो मैना गयो मैना (झोडा)", "मै मोरीलाई लिन परदेशी", "माया भिवा तिं थोंवॆ सै मोमै (तमु)", "यो मन धुने केले हो (कौडा)", "सबै डाँडाभन्दा धौलागीरि अग्लो सालैजो", "बसन्त नै बस्न खोज्छ यहाँ", "रातो राम्रो लालुपाते ए भेनाज्यु", "कुस्माको पारि दम्घाको फाँट (सालैजो)", "अच्छा लेकिन लाउरे म त गोर्खा पल्टनको (दोहोरी)", "दिल यो मेरो दिल", "घान्द्रुककी ठिटी म त गाउकै गीत", "जाउ जाउ रेलैमा", जस्ता गीतमा प्रस्तुत जोडदार नृत्यहरु अति नै राम्रो थियो । अझ सोनिया तमुको "जाउ जाउ रेलैमा" र नमिता तमुको "घान्द्रुककी ठिटी म त गाउकै गीत" भन्ने एकल नृत्य अति नै राम्रो थियो भने "आयो मैना गयो मैना" र "कुस्माको पारि दम्घाको फाँट" भन्ने सामुहिक नृत्य उत्कष्ट थिए । तुलनात्मक रुपमा कोहीभन्द केही कम नभएका एकसेएक जोडदार नृत्यहरु प्रस्तुत गरिएको यो साँस्कृतिक कार्यक्रम बेलायतमै सबैभन्दा उत्कृष्ट रहेको कुरा उपस्थित दर्शकहरुले बताएका थिए । कार्यक्रममा हिपहप र ब्रेक डान्स् पनि समावेश गरिएको थियो जसलाई नव युवा पिंडीले वन्स् मोर भन्दै चिच्याई रहेका थिए भने कार्यक्रम अझ लामो भईदिए हुन्थ्यो भनेर दर्शकले मनोकामना गरेको कुरा सस्केरा बनेका थिए । उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन गराउने उद्धेश्यले एक घण्टा खुल्ला रुपमा खुशीयालीको नाच नचाईएको थियो । तमु जातिको संस्कृति मौलिक पहिचान एवं मैलिक परम्परागत चाड पर्वहरुको बारेमा जान्न-बुझ्न तमु प्ये ल्हु संघमा जानु पर्छ भन्ने तथ्य हालसम्म आयोजना गर्दै आएको तमु प्ये ल्हु संघको कार्यक्रमहरु तथा गतिबिधिहरुले सिद्ध गरेकोछ । त्यसैले नै तमु प्ये ल्हु संघप्रति जनमानसको विश्वास बढ्दै आएकोछ ।
समाचार : भेग च्हाक्ली तमु सचिव तमु प्ये ल्हु संघ युके
|
Comments
The To (तो) Lhosar Celebration organised by TPLS UK on 30 Dec 2009 (१५ पौष २०६६) in Farnborough UK, indeed, it was a moment that I will be cherishing in my life. Together with the significant of the holy rituals, seeing many relatives and friends, I am extremely impressed with the Cultural Shows. What a performance! It was superb. The General Secretary Bheglal Chahkli's anchoring was equally impressive not only that how he promptly filled up to perform when one of the artists had malfunction of his dress. He is a jack of all trades. स्याबास!
I even heard the conversation amongst the spectators that the artists must have been professional. For fact I know that 1st; they are all the cream of the crop and 2nd; they prepared very hard to produce this highest standard. A Job well-done and thank you all artists.
I was pleasantly surprised for the publicity & promotion of the TPLS website at the program is first of its kinds. Today, we must think Globally while acting locally and website is an ultimate tool to facilitate this. I strongly urge to make this website full of pyelhu resources, not limited with the news/activities etc. Why not have all rituals, craddle to grave heritage tamu cultures!
Once again, Job Well-done! and Thank you to the Lhosar Organising Committee.
I am blessed and fully energised. Hope the same for you.
Prem Chahkli
London