You are here > Home प्‍येताँ ल्‍हुताँ कर्म काण्‍ड ''सिमिं'' (मृतक) को लागि जान्नै पर्ने संस्कारहरु
Fri 10 Sep 2010
''सिमिं'' (मृतक) को लागि जान्नै पर्ने संस्कारहरु PDF Print E-mail
Written by Netra tamu   
Friday, 06 March 2009 22:09

 kyan koin

जस्तोसुकै युग र बैज्ञानिकहरुको अविस्कार भए पनि जन्म र मृत्युलाई कसैले रोक्न सक्तैन किनभने यो नै ''प्राकृतिक संस्कार'' (Natural Culture) हो । मानवले जन्म पछि जिवित छउन्जेल जिवित संस्कार जान्न आवश्यक भए जस्तै मृत्यु पछि मृतकको लागि जान्नै पर्ने संस्कारहरु छन् । यी अति महत्वपूर्ण कुराहरु यहाँ छोट्कारीमा प्रस्तुत गरिएको छ । ''र्‍हो समा'' (शव चलन गर्दा)


तमुको ''धर्म शास्त्र'' (प्ये क्ष्या) को अनुसार मृत्यु पस्‍चात पच्यु र क्‍ल्‍हेप्री अथवा पच्यु र बोन्पो तमु लम पुरोहित बाट गरिनु पर्ने धार्मिक बिधि सम्‍पन्‍न भएपछि ''शव'' (र्‍हो) लाई आगनमा राखिन्छ । त्यसैबेला सबै इष्टमित्रहरु आफन्तहरुको तर्फ बाट अन्तिम श्रद्धाजलीको लागि तयार हुन्छन् । त्यसपछि ''शव'' लाई आगन बाट चलान गर्दा भए र पाए सम्म आफ्‍नो छोराहरुले बोक्नु पर्दछ ।

(क) ''म्हो'' (जवाई) अथवा ''त्हक्र''
सबै भन्द अगाडि एकजना ''म्हो'' (जवाई) अथवा ''त्हक्र'' भाइ खलकको एकजना, हातमा पाएसम्म ''म्हाक्ष्योर्‍हिँ'' (खुकुरी)अथवा कुनै एक धारिलो हातियार अगाडि  पटि धार देखाएर अघि अघि हिडनु पर्छ । उसले बेला बेलामा हा…हा…हा… भनेर कराउनु पर्छ । यसरी हिडनुको अर्थः मृतकको लागि बाटोमा पर्न सक्‍ने बिभिन्न बाधा अड्‍चनहरू लाई फाँडदै र हटाउँदै जानु हो । किन भने मृतकले पहिला आफु जिबित हुँदा हिडेको बाटो घाटोका बिभिन्न प्रकारका भुत् प्रेतआत्माहरु र बायो बतास,
म्होँ, हाँ, ले रुकावट गर्न आएमा उनीहरुलाई पञ्‍छाउनु हटाउनु हो ।

kyankoin 

(ख) ''क्याँ कोँएँ'' कपडाको बाटो
त्यसपछि ''क्याँ कोँएँ'' कपडाको बाटो । ''प्ये'' शास्त्रमा ''ल्हं'' भनिन्‍छ । यो लामो सेतो कपडामा ८, १२, १६, जोर नं. पारेर निङालो बाँस अथवा काठमा उनेको हुन्छ । यदि लोग्ने मान्छेको मृत्यु भएमा सम्पूर्ण नै सेतो हुन्छ भने महिलाको मृत्‍यु भएमा सो कपडाको बाटोको अघिल्लो भागमा सेतो बाहेक अरु अन्य रंगको कपडा गाँसिएको हुन्छ । सबैभन्दा अघिल्‍लो बाँधिएको निङालोमा माथि टुप्पामा फुलमाला, ल्हावाहरु र क्ष्युकु ट, बाँधिएको हुन्छ । सोहि भागलाई कुनै भेकका तमुहरुले छुट्टै बनाएको पनि पाईन्छ जस्लाई ''ल्हाँ'' भन्दछ । सोही कपडा नै मृतकको लागि घर देखि चिहान सम्मको बाटो (ल्ह) हो । जसलाई ''प्ये'' शास्त्रमा ''सि क्याँ'' भनेर उल्लेख भएको पाइन्छ । मृत्यु पछि यस्ता अन्य थुप्रै बाटोहरु पार गरेर मात्रै स्वर्ग पुगिने कुरा शास्त्रमा प्रष्ट छ । त्यसैले गर्दा जब मान्छेको मृत्यु हुन्छ तब धेरै बिधिहरु गर्नु पर्ने देखिन्छ । ''प्ये क्ष्या'' धर्म शास्त्र को अनुसार अन्य बाटो यस प्रकार छ । जस्तै ;- १, क्रोँ क्याँ । २, सि क्याँ । ३, त्हो क्याँ । ४, स क्याँ । ५, मु क्याँ । ६, ल क्याँ । ७, ङि्ह क्याँ । ८, चोँ क्याँ ९, प्है क्याँ । यी ९ प्रकारको बाटो पार गरेर जानु पर्दछ । यी नौ प्रकारको बाटोहरुमा ''र्‍हो'' (शव) को अगि अगि टाँगिने कपडाको बाटो दोस्रो बाटो हो । पहिलो बाटो धर्म गुरुहरुले
''क्यक्याँ बिद्या ''प्ये'' शास्त्रा अनुसार गरिसकेको हुन्छ । सोही ''क्यक्याँ'' को बिधिअनुसार तमुको मृत्यु पछि एउटा बुढी बाख्री मार्नु पर्ने ''प्ये'' शास्त्रामा उल्लेख छ । शास्त्रको अनुसार मान्छे मरेपछि उस्को ''प्ल्ह'' (हंस) एक्लो हुन्छ । त्यसैले मृतआत्माको ''क्यक्याँ'' बाटोको साथी ''थु'' को लागी बाख्रीको (हंस) दिनु पर्ने विधि छ । ''तमु प्ये क्ष्या'' (तमु धर्म शास्त्र)
को अनुसार ''क्यक्याँ'' बारे केही व्यख्या गरौं । ''प्ये'' मा जब मान्छेको यस लोकमा जन्‍म हुन्छ । तब साथीको जरुरी पर्दछ।

जन्मने बित्तिकै बच्चाको साथी आमा हुन्छ । जब ठुलो ठुलो हुदै गएपछि उसको थुप्रै अरु साथीहरु हुन्छन । जब उमेर पुगे पछि बिहे हुन्छ, उसको साथी श्रीमती या श्रीमान हुन्‍छ । जब मिति पुग्यो तब एकदिन श्रीमान या श्रीमतिको छुट्टा छुट्टै मृत्यु हुन्छ । त्यस बेला जुन मृत्यु हुन्छ उ एक्‍लो हुन्छ । त्यसैले उसैको साथी बाटोमा एक्लै नहोस
भनेर ''बुढि बाख्री'' दिनु पर्ने विद्यि छ । बुढि बाख्रीको ''हंस'' मृतकको हंसलाई दान, मंस मलामीलाई दान । यो एउटा कारण र अरु कारणहरु पनि छन् । जब मान्छे मृत्यु पछि उसको ''प्ल्ह'' हंस लाई धेरै भुत प्रेतआत्माहरुले घेरेको हुन्छ । चारै दिशा, चारै कुना, आकाश पताल, बाटो घाटो, खेत बारी, खोलानाला आदी ठाउँको भुतप्रेत् बायुबतास, सिमेभुमे
देबी देवता सबैले राम्रो किसिमले नराम्रो किसिमले चारै तिर अबरोधै अबरोध गरेका हुन्छन । ती सबैलाई बुढि बाख्रीको बिभिन्न अंगको रगत मासुले र अक्षता पानी दिएर या चढाएर बाटोहरु खुल्ला गर्नु पर्ने बिधिहरु छन ।

Rhon 

(ग) ''र्‍हों'' (शव)
सोही कपडाको बाटो पछि ''र्‍हों'' (शव) आफ्‍नो छोराहरु लगायत ''र्‍होस्यार'' (मलाँमी) हरुको सहयोगमा बोकेर चलन गरिन्छ । मृतकको टाउको सोही कपडाको बाटो तर्फ हुन्छ । यसरी ''र्‍हो'' शव बोक्दा केही नियमहरु पनि छ । जस्तै ;- जब काँधमा शव छ भने अय अय भनेर अर्को मान्छे नगुहार्ने । ''र्‍होस्यार'' मलाँमीहरुले भन्नै नपरीकन पालो दिने । जसले बोक्यो
उसले शव को अघि र पछि गरि दुई पटक बोक्नै पर्ने । सकेसम्म शव बाटोमा नबिसाउने । बिसाउनै परेमा मृतकको कुनै पनि अंगले भुई नछुवाउने । प्रत्येक दोबाटोमा ''क्याँथोँ'' मंत्र पढने इत्यादि ।

(घ) धर्मगुरुहरु 
अब ''र्‍हों'' शव को पछि धर्मगुरुहरु आफ्‍ना धार्मिक बाजाहरु ''क्याँ'' बाटोको धार्मिक तालहरु बजाउँदै हिड्दछन् । यसबेला धार्मिक बाजाका तालहरु जम्मा दुई प्रकारका हुन्छन । ''प्र'' नि ''न्हे'' (हिन्ने ताल) र (बिश्राम ताल) जसरी हामी जिबित अवस्थामा आफ्‍नो पाहुनालाई सम्मानका साथ अघि अघि लगाएर बिदा गर्छौ, झण्डै त्यस्तै यहाँ मृतक लाई अती भन्दा
अती बिभिन्न प्रकारले, शास्त्रले धार्मिक बाजाका धुनले ''रिँच्हमिहरु'' (छोरी चेलीहरु) ''ट्हो स्योँ'' (छरछिमेकीहरु) इष्टमित्रहरु, आफन्तहरु पछि पछि बिदाईको निम्ति ''र्‍होस्यार'' (मलामी) को रुपमा गएका हुन्छन । किनकी यो मृतकसंग जिबितहरुको तरफबाट अन्तिम बिदाइ हो । वहाँको सम्मानको कारण अन्य ''र्‍होस्यार'' मलाँमी लगायत धार्मिक गुरुहरु धरि वहाँको पछि
पछि हिडनु पर्ने कुरा ''प्ये'' शास्त्रमा उल्लेख छ । ''प्ये'' शास्त्रमाः- क्योँमी उँइजु उँइजु उइस्यारदो । ङिमी लिजु लिजु लिस्यारमो । अर्थतः- हजुर अघि अघि पालनुहोस अथवा सवार होस । हामीहरु पछि पछि आउँछौ, अथवा आउँदै गर्छौ । यसैले चाहे महिला होस चाहे पुरुष होस । जब ''र्‍होस्‍यार'' मलाँमीको रुपमा गएका सबै जना ''छोकोँ'' चिहान सम्मै पुर्‍याउनु जानु पर्ने ''प्ये'' मा उल्लेख छ ।

(ङ) ''छोकोँ'' चिहान
''छोकोँ चिहान मा पुगे पछि । ''र्‍हो'' शव लाई एकै ठाउँमा राखिन्छ । पुर्‍याउन गएका महिलाहरु छोरी चेलीहरु (शव) वरिपरि घेरेर बसेका हुन्छन । त्यस बेला तिन भागमा काम हुन्छ । धार्मिक गुरुहरु मृतकको हंस ''प्ल्ह'' ''थोरी ङ्हैसोँ'' स्वर्गमा लिन गराउने शास्त्र पाठ गर्न थाल्दछन् । ''र्‍होस्यारहरु'' कोहीले'' खाडल''  अथवा ''चित्ता'' बनाउन अथवा खन्न थाल्दछन भने प्रायजसो ''र्‍होस्यारहरु'' ढुङ्ग बटुलने तर्फ लाग्दछन । अब उता धर्मगुरुले आफ्‍नो विद्या सम्‍पन्‍न गर्दछन् र यता र्‍होस्यारहरुले आफ्‍नो काम सके पछि । र्‍होस्यारमा गएका प्रत्येक र्‍होस्यारले मृतक राख्‍ने ''खाडल'' या त चित्तामा ''क्ष्या सीँ'' धर्मकाठ र ''स'' माटो दिएर मात्रै फर्कनु पर्दछ । यो नै वहाँ संगको बिदाईको अन्तिम श्रद्धाजली भनु या ''पिँथेँ'' (उपहार) मानिन्छ । त्यस पछि र्‍होस्यार, धर्मगुरुहरु सबै जना फर्कन्छन् । तर ''म्होहरु'' जवुईहरु भने अन्तिम सम्म बसेर राम्रो संग थन्काएर या लास जलाइसकेपछि मात्रै फर्कनु पर्दछ । यतिखेर याद गर्नु पर्ने एउटा कुरा छ ।
त्यो हो ''र्‍हि'' (‍अस्तु) खाडलमा राख्‍नु अथवा चित्तामा आगो लगाउनु अघि मृतकको ''हात र खुट्टाको नङ'' (योसी प्हंलसि) र कपाल काटेर बाँसको उल्टो ढुङरोमा या त निङालामा राखेर ''सोँज्ञाप्हुँ'' दोबाटोमा लुकाइ राख्‍नु पर्छ । सोही अस्तु मृतकको पै मा जरुरी पर्दछ ।

''सिमि'' (मृतक) को लागि जान्नै पर्ने १७ कुराहरु ।

''तमु प्ये क्ष्या'' तमु धर्म शास्त्र अनुसार जब तमु स्वर्ग हुन्छ भने ! ''आस्योँ'' मावाली अती आवश्यक पर्दछ । तर तमु समाजमा दुई प्रकारको ''आस्योँ'' प्रयोग गरेको पाइन्छ । हुन पनि दुबै प्रकारका लाई ''आस्योँ'' भनेरै नै भन्दछन् । त्यसैले सोही ''आस्योँ'' बारे खास महत्वपू‍णँ ''आस्योँ'' छुट्याई दिने बिचार हो ।
ती दुई प्रकारको आस्योँमा ;- १ ''स्योँला आस्योँ'' मामा आस्योँ ।
                                   २ ''ङेला आस्योँ'' कुटुम्ब आस्योँ ।

१ ''स्योँलाआस्योँ'' मामा आस्योँ; भन्नाले आफुलाई जन्म दिएको आमाको दाजुभाई माइती लाई बुझिन्छ । यदि आफुलाई जन्म दिएको आमाको माइतीहरु नभएमा आमाको ''थर'' लाई समाउनु पर्दछ । यो हो मृतकको लागि खास आस्योँ ।

२ ''ङेला आस्योँ'' कुटुम्ब आस्योँ; भन्नाले कुटुम्ब बिहेवारी चल्ने एक आपसका अन्य थरहरु सबैलाई आस्योँ नै भनिन्छ । तर मृतकको लागि यो आस्‍योँ नक्कली बनावटी आस्योँ हुन्छ ।
एउटा उदाहारण ;- एउटा ''क्रोँम्छैँ'' थर ले ''कोनस्यो'' थर बिहे गर्‍यो भने उसबाट जन्मिएको बच्चाहरु सबै ''क्रोँम्छैँ'' थरको स्‍वत; हुन्‍छन् । तर ती बच्चाहरुको सक्कली आस्योँ ''कोनमै'' थरको हुन्छ । तर उसको कुटुम्ब आस्योँहरु ल्हेगैँ, क्होलमै, प्हच्यु, त्हारा, र्‍हिला, म्‍होछैँ, क्यपछैँ, योबछैँ, न्हानसि' पालचैँ, थिपचै, कुपछैँ इत्यादि थुप्रै थरहरु पर्दछन् । तर मृत्युको बेला यी सबै आस्योँहरु सक्कली आस्योँमा चाहि पर्दैनन् । तर तमुहरुको कुनै कुनै गाउँहरुमा बुझेर हो या नबुझेर हो पक्का आस्योँ छाडेर नक्कली आस्योँ बाट काम चलाएको पनि देखियो । ''प्ये क्ष्या'' धर्म शास्त्राकै अनुसार हिड्न चाहेमा अब देखि ''स्योँलाआस्योँ'' मामा आस्यो नै हाल्न उपयुक्त सल्लाह दिन्छु । भनाईको अर्थ आफुलाई जन्म दिएको आमाको ''थर'' लाई मुख्य आस्योँ मानिन्छ ।

३ ''च्होँ'' (Coffin) मृतक राखीने गुँड
धार्मिक बिधि सके पछि मृतकको शरीरलाई ''च्होँ'' Coffin मा राखिन्छ । जसलाई शास्त्रमा ''मारै च्होँ'' ''मैए च्होँ'' अर्थात सुन चाँदीको गुँड भनेर संम्बोधन गरेको पाइन्छ । त्यसमा राखेर राम्रो संग कपडा र फुलमालाहरुले पहिराए पछि, त्यसलाई ''र्‍हो'' शव भनेर भनिन्‍छ । यसरी ''र्‍हो'' शव लाई आँगनमा निकालिन्छ । त्यसबेला आफन्तहरु, इष्टमित्रहरु, गाउँलेहरु बाट श्रद्धाञ्‍जलिको लागि आँगनमा राखिएको हुन्छ । श्रद्धाञ्‍जलि दिंदा तमुहरुको केही फरक देखिन्छ । जसलाई ''ख्रुई'' भनेर भनिन्‍छ । शास्त्रमा फुललाई म्हनि पानीले भिजाई ''र्‍हो'' शव लाई तिन फेर घुमाई एउटा फुल शिर तर्फ राख्‍ने र अर्को फुल खुट्टा तर्फ राख्‍ने र अन्तिम ढोग दिने छ । तर हिजो आज क्रेगी, क्रमु, खाड, भनेर (शव) को शिर तर्फ राखिन्छ र ''ख्रुई'' अन्तिम बिदाइ ढोग भनेर शवको खुट्टा तर्फ राखेर ढोग लिन्छन । आज भोली कपडा र पैसा राख्‍ने चलन चल्दै आएको छ । त्यसरी मृतकको शिर तिर चढाएको कपडा र पैसा ज्वाई ''म्हो'' हरुलाई दान स्वरुप दिन्छन भने खुट्टा तर्फ चढाएको कपडा र पैसा धर्मगुरु लाई दान दिने चलन चलेको पाइन्छ ।
४ ''र्‍हो'' (शव)

जब ''हो'' (शव) आँगनमा लगेर राखे पछि धर्म गुरुहरु धार्मिक बाजाहरु ''ङ्हक्ष्या कुक्ष्या'' (पाँच देखि नौ ताल) बजाएर बिभिन्न ताल अनुसार ''र्‍ हो'' वरिपरि नाच्दछन् । यसलाई ''र्‍हो'' ''ओँइनोब'' (शव रक्षा) भनेर भन्दछ । यसमा नौ तालको नौ प्रकारले नै नाचेको पाइन्छ । तमुको धर्म गुरुहरु पच्यु र क्‍ल्‍हेप्री तथा पुरानो बोन्‍पो लमले यस प्रकारको ताल र धार्मिक नाचहरु प्राय; गरेर मृत्युको बेला र पितृ यज्ञा ''पै'' मा मात्रै नाच्दछन । यसमा बजाइने ताल र नाचको आ-आफ्नै प्रकारको अती महत्वपुर्ण अर्थहरु छन । तर जो कोहीलाई यसको अर्थहरु खोल्न नहुने कुरा धर्म गुरुहरु बताउँछन ।

५ ''ओँई नोब'' (शवको रक्ष)
यो ''र्‍हो उइनोब'' धार्मिक नाच श्रद्धाञ्‍जलि अघि पछि जुनै पनि समयमा नाच्न सक्छन । यस बेला ''क्ष्योप्ली'' गर्ने चलन पनि छ । चार दिशाको देवतालाई तरपन् दिनु हो । यसै बिचमा ''म्हनि'' ''पाप काट्ने'' विद्या पनि पढ्दछन् ।

६ ''मे ल्हिब'' धनुष हान्नु
जब ''र्‍हो'' (शव) घर आँगन बाट चलन गर्ने बेलामा । कृय पुत्रहरुले ठुटुलो मुडुलो बनेर चार दिशा तिर धनुष काँड हान्नु पर्दछ, त्यसपछि अन्य दाज्‍युभाई खलकहरुले पालै पालो धनुष काँड हान्दछन् ।
हान्ने नियम पहिला सुरुमा ''र्‍हो'' शवलाई ताक्ने त्यसपछि पूर्व ताक्ने पश्चिम हान्ने । पश्चिम ताक्ने पूर्व हान्ने । त्यस्तै प्रकारले दक्षिण ताक्ने उत्तर हान्ने र उत्तर ताक्ने दक्षिण हान्ने यसरी चारै दिशा
तर्फ धनुष काँड हान्नु पर्दछ । यसको अर्थ झुक्याइ झुक्याइ चारै दिशाको यमराजको ढोका फोर्नु हो । प्ये मा यसलाई ''चैँला चैँम्रा'' भनेर भनिन्‍छ् । त्यसै सिलसिलामा (शव) हिडाउँने अघि केही पर एउटा सानो काठको फलियोमा अंगरले गोलो चिन्ह बनाएर सानो चाँदमरी हान्ने तारो जस्तो बनाएर एउटा तेर्सो काठमा ठाडो गरी राखिएको हुन्छ । सो तारो लाई पाएसम्‍म छोराले, छोरा नभएमा ''त्‍हक्र'' भाईखलकले काठको चुच्चे तिखारीएको भालाले हानेर फोर्ने चलन छ । यसको अर्थ पनि निस्कने बाटोमा यमराजले ढोका बन्द गरेको हुन्छ । सोही ढोकालाई फोर्नु हो । जसलाई ''क्रोँले क्रोँम्रा'' भनेर प्ये मा
उल्लेख गरेको पाइन्छ । यी प्रक्रियाहरु धर्मगुरुहरुले राती ''क्यक्याँ'' शास्त्र पाठ गरिसकेर बुढी बाख्रीको कलेजोको सानो सानो चार टुक्र चोखो भात पकाएर चारै डल्ला बनाएर सो चार टुक्र पोलेको कलेजो सोही भातको डल्लामा राख्‍नु पर्छ । र कृयपुत्र छोराहरुले चारै दिशामा चढाउँदछन । जसलाई ''फोल पिंव'' (पिण्ड दिनु) भन्दछ । धनुषकाँड भाला हान्नु पिण्ड दिनु संम्बन्धमा गहिरो अर्थहरु पाइन्छ । यसरी चार दिशामा पिण्ड चढाउँदा पच्यु धर्मगुरुले ''पितृबाजा'' बजाउँदछन । जसलाई ''हेर्गा पदु'' (त्‍होँदु ट्याउँकी) भनिन्‍छ्। सो बाजाको धुन पितृले सुन्न सक्ने कुरा ''प्ये'' मा पाइन्छ । तमुहरुको मृत्युको बेलामा र पितृ कार्य ''पै'' मा यो धार्मिक बाजाको अती महत्व छ । यी बाजाको तालहरु बिना पितृहरु निम्तो गर्न नसकिने अर्थहरु पाइन्छ । यी दुई बाजाको बिचमा बिभिन्न ५ देखि नौ तालहरु बाजइन्छन्। बिभिन्न तालको बिभिन्न अर्थहरु छन् । यसरी सबै विधिविद्यानहरु सके पछि ''र्‍ हो'' शव चलाइन्छ । त्यसबेला ''रिँ च्हमि'' छोरी चेली हरुले ''प्रो'' घलेक मा ''ल्हावा'' भुटेको धान, अन्न ''ट'' फुल र ''युँछिगरा''(दर्शन ढुङ्गाका) टुक्रहरु मिसाएर बोक्नु पर्दछ । यी यसरी बोकेको फुल अन्न र ढुङ्गाका टुक्रहरु शव लगिएको बाटोमा पर्ने प्रत्येक ''सोँज्ञाप्हुँ'' (दोबाटोमा) छर्ने चलन छ । तर हिजो आज दर्शन
ढुङ्गाको साटो पैसा मिसाएर छर्ने चलन चलेको पाइन्छ । यसको अर्थ भुटेको अन्न मृतकलाई, फुलहरु देवी देवतालाई र दर्शन ढुङ्गा भुतप्रेतहरु लाई चढाएको अर्थहरु शास्त्रमा पाइन्छ ।

७ ''र्‍हो होँर थेँब ओसोँ'' (शव खाडलमा राख्‍नु अघि)
जब चित्ता अथवा खाडल ''होँ'' तयार भए पछि ''र्‍होँ'' शव लाई (ङ्हिल्ले ह्‍याँ ह्‍याँ लब, सोँल्लेर थेँब) अर्थात दुईफेर ताक्ने र तिन फेरामा राख्‍ने ।

८ ''प्हर्जे ख्रोँब'' (पाप् पोल्नु)
''प्हर्जे ख्रोँब'' पाप पोल्ने दाहसंस्कारकै बेला चितामा राखेर आगो सल्काउनु अघि अथवा खाडलमा राख्‍नु अघि मृतकको मुखमा कृयाछोराले आगो राख्‍ने चलन छ । यसलाई हिन्दुको अनुसार दागबत्ती दिने पनि भन्दछन । तर तमु प्येको अनुसार ''सुँर मि थेँब'' (मुखमा आगो राख्‍ने) भन्दछन । यसको अर्थ प्ये मा मृतकले उसको जीवन कालमा जानी नजानी बोलिएको दुरबचनहरु, बोलेको पाप पोल्नु हो । जसलाई (सुवाँइली पोँब प्हर्जे ख्रोँब) भनेर भनिन्‍छ । यसै कारण छोराले मुखमा बलेको आगोराख्‍ने । त्यस पछि सोही बेला मामा आस्योँ (स्योँला)ले दुधको धारले सो आगो निभाउनु पर्दछ । यसको अर्थ मामा बाट माफी दिनु हो । यसैले गर्दा (प्ये क्ष्या) धर्म शास्त्रको अनुसार ''मावाली कात्रो'' (स्योँ क्वोँइ) र (मि सैब) आगो निभाउने मा आस्योँको ठुलो भुमिका भएको पाइन्छ ।

९ ''ट्हि कोँइ, स्योँ कोँइ'' (कात्रो कपडा) 
मृत्यु पछि मृतकको प्रार्थिक शरीर ढाक्न दुइ प्रकारको कपडा उल्लेख भएको पाइन्छ । (क) ट्हि क्वोँई  (ख) स्योँ क्वोँई । (क) ''ट्हि क्वोँई'' भन्नाले यो कपडा मृतकको घरबाट दिइने कात्रो हो । यो सेतो रंगमा ४ देखी ६ हात, जोर हातको दिइन्छ । यसलाई जनम पछि दिइने पहिलो कपडा जस्तै मृत्यु पछिको यो अन्तिम कपडा मानिन्छ । सोही कपडाले मृतक लाई बेर्नु अथवा छोप्नु पर्ने विधि छ ।
(ख) ''स्योँ क्वोँई'' मावाली कात्रो । मावाली कात्रो यो मृतकको मावालीले दिइने कपडा हो । यो कात्रो यदि मृतक पुरुष भएमा सादा सेतो र महिला भएमा अन्य रंगको दिइन्छ । यो कपडाको ठुलो महत्व भएको पाइन्छ । प्येमा बर्णन भए अनुसार यो 'स्योँ क्वोँई' बिना मृतकले स्वर्ग प्राप्तिको लागि धेरै बाधा अड्चनहरु भोग्नु पर्ने उल्लेख छ । प्ये को अनुसार सुरुमा ''प्युरि रु'' धागो दिने उल्लेख छ । तर पछि मात्रै कपडा दिने चलन भएको बुझिन्छ ।

१० ''म्रेनोब'' (किरीय बोक्नु)

मृत शरिरलाई चिहानमा थनक्याउँदैको समयमा आफ्ना कृयाछोराहरु र नजिकको भाई खलका सबैले कपाल खौर् नु पर्दछ । छोराहरुले आँखीभुई, दारी, जुङ्गा धरि खौरने र अघि घर बाट दिएको ''ट्हि क्वोँई'' कात्रो कपडा तिन बिता काटेर कपालमा अर्थात टाउकोमा 'तिन कुने' गरेर बेरेर कृयाछोराले ''बरखी'' बस्नु पर्दछ । जसलाई ''म्रे नोब'' भनेर भन्दछ ।

११ ''म्रे कद् नोब'' (किरीय कती बोक्ने)

यो आमाको भए ७ दिन र बाबाको भए ९ दिन । १० बर्ष मुनिको बच्चा हो भने ३ दिन मात्रै 'म्रे नोब' प्ये मा पाइन्छ । प्ये शास्त्रमा महिला ७ हंसले भोग गरेको हुन्छ, पुरुष ९ हंसले भोग गरेको हुन्छ र नाबालख ३ हंसले भोग गरेको हुन्छ । त्यसैले मृतकको हंसको भोग अनुसारको दुःखमा बसेर उनीहरुको हंस (प्ल्ह) लाई पार गर्नु पर्ने नियम छ ।
१२ ''थासोँ वाब'' (दोख फाल्ने) यसरी दाहसंस्कार गरेर आए पछि सोही दिनमा ''थासोँ'' यज्ञा गर्नु पर्दछ । यसको अर्थ त्यस दिनको नराम्रो प्रकारको दोख 'था' कुनै मलामीहरु र आफन्तहरुको घर नजाओस भन्नाको कारणले यज्ञा गरेर मलामी लगायत घरको सबै परिवारहरु चोखिनु पर्ने नियम छ । यो मृतकको दुःख बाट चोखिएको हैन । त्यसदिनको दोख र सिन्टीहरु बाट चोखिनु हो । यसरी ''था'' (दोख) दोख र सिन्टीबाट नचोखिएमा तिनीहरु कुनै पनि मलामीलाई पक्ष्याएर जाने छन् र उसको घरमा फेरि मृत्यु हुने संभावना हुने प्ये मा बर्णन छ । त्यस्तै दोखहरु बाट छुटकारा पाउन कै लागि जब चिहान बाट फर्कनछ तब सबै मलामीहरुले दोबाटोमा अथवा बाटोमा अथवा मृतकको घरको नजिकमा केही पर बाटोमा धुपहरु बाली राखेको हुन्छ । सो धुपमा सुंघने र धुपलाई टाँङमुनि पारेर सबै आफ्नो ज्यानमा धुँवाले धुँवाउने र शीरको टोपी धुँवामा धुँवाएर झारेर लगाउने । महिलाहरुले 'क्रमु' मचेत्रो धुँवाउने इत्यादि नियमहरु छन ।

१३ ''र्‍होस्यारमै'' (मलामीहरु) 

जब तपाँई मलामी (र्‍होस्यार) जानु हुन्छ भने, यदि महिला हो भने 'क्रमु' नओडने 'क्रमु' कपाल बाट हटाएर ''त्हामलो'' (तिनकुने) बनाएर कम्मरमा बाँधने र कपाल फुकाउने, त्यसदिन कपाल नकोर्ने, पुरुष हो भने ''क्रलु'' (मुडुले) हुनको लागि सिरको टोपी झिकने । महिला पुरुष दुबैले अंगारको कालो टिका लगाउने यसको अर्थ ''सोमी नि सिमि'' (जिबित र मृतक) छुट्याउनु हो । साथै दुःखतको चिन्ह मानिन्छ। यो अरुबेला भन्दा भिन्दै दिन हुनाले मृतकको लागि दुःखको भेषभुषा हो भन्ने जनाउँछ । यसमा धर्म गुरुले अन्तिममा स्वर्ग बाट फर्कँदा जिबितको र मृतकको हंसहरु छुट्याउनेमा पनि मद्दत पुग्ने कुरा शास्त्रमा पाइन्छ ।
१४ ''म्रे वाब'' (दुख फुकाउने) अब ३,७ र ९ दिनमा ''स्योँला'' मामा बाट 'चै' नि 'ट' (टिका र फुल) गरि नुन फुकाउने र 'म्रे वाब' दुःख फाल्ने अथवा फुकाउनु पर्दछ ।

१५ ''सिक्रँ म्होँसिँ'' (मृतकलाई प्रेतआत्मा बाट छुट्टयाइने यज्ञा) 

यदि मृतक नराम्रो किसिमले कुनै प्रकारको घटनामा परेर मृत्यु भएको भए पच्यु गुरु बाट 'म्रे' फाल्नु अघिल्लो दिनमा(सिक्रँम्होसी) यज्ञा गर्नु अत्यन्त जरुरी छ । नराम्रो प्रकार भन्नाले दुर्घट्ना, पर्देशमा, बिष सेवन, झुण्डेर, पानीमा डुबेर, भिर पाखा बाट खसेर, लडाँईमा, हत्या, आत्महत्या, धेरैबर्ष रोगीएर अचानकमा परेर, इत्यादि लाई मानिन्छ । किन भने यसरी मृत्यु भएको मृतकको हंसले सजिलै संग बस्ने ठाउँ पाउँदैनन् र भुत प्रेतआत्माहरु संग भौतारीएर हिडिरहेको हुन्छ । त्यस्ता आत्माहरु सधैं जिबित मान्छेलाई तर्सा्उने, झुक्याउने, र दुःख दिइरहन्छन् । त्यसैले ''सिक्रँम्होसी यज्ञ'' गरेर ती प्रेतआत्माहरु बाट छुट्याउनु पर्दछ । जसलाई ''म्होसी टिँब'' ''च्ह्योँगरपिब'' भनेर भनिन्‍छ् ।

१६ ''कैँ फै ट्हा फै पिँब'' (चोखो खाना चढाउने)

मृतक सदगत गरेको दिन देखि ३, ७ वा ९ दिनका दिन हरेक बिहान ''कैँ फै ट्हाफैँ'' चोखो भात, चोखो तिहुन पकाएर सके सम्म चिहानमा कसै नसकेमा दिशा पारेर चढाउनु पर्दछ । यदि कसै गरि तिन पटक नसकेमा तिनदिनको बिहान कसै गरि पनि चढाउनु पर्दछ । यो चोखो खानपिन आफन्त, भाइखलक, छोरी चेली र ''स्योँला'' आस्योँ बाट भए पुग्छ । यही चलन हिजो आजा बदलिएर आँगनमा थुपार्ने चलन पनि देखिन्छ । साथै केही झिकेर आगोमा पोल्ने जस्ता चलनहरु देखिएको छ । तर शास्त्रमा यो पाइदैन ।

१७ ''त्हुराटिब'' (सन्तवना दिन बस्ने)

यसरी'म्रे' दुःखमा बस्दा हरेक दिन साँझ गाउँ ठाउँका इष्टमित्रहरु युवा युवातीहरु आएर गित गाउने हाँस खेल गर्ने र दुःखमा शोक सन्तप्ती परिवारलाई दुःख शोक भुलाई दिने गर्दछन । यसलाई ''त्हुराटिब'' भन्दछन । यसको नियम यदी भ्याएमा पुरै दिन बस्न जाने । नभ्याएमा लगातार तिन दिन सम्म बस्न जाने । कसै नभ्याएमा पहिलो रात जसरी पनि जानै पर्ने नियम छ ।
.. क्ष्‍यज्‍यालो ..

पच्यु पैँडी चिबः
यारजङ क्रोँम्छैँ तमु
धार्मिक सल्‍लाहकार तमु प्‍ये ल्‍हु सँघ शाखा युके

 

Comments

Please login to post comments or replies.
 

Login Box

Archive

Design Variations

Available Styles :

style style style style

Available Font Family : Arial Verdana Tahoma Trebuchet Georgia Optima Times New Roman Lucida Lucida Sans
Available Font Size : small Standard Big

A PSD templete file will be provided if you wish to add  a new design style for this website.

प्‍येताँ ल्‍हुताँ लेखहरु

मे त्हलें दिवस सम्पन्न
24/01/2009 | Geeta Chahkli Tamu

मे त्हलें दिवस सम्पन्न
फागुन १९ पोखरा ।एउटा धर्मावलम्बीहरुको ठाउँमा अर्को  [ ... ]


क्होला सोंप्रेट्होः तमु ऐतिहासिक स्थल
25/12/2008 | Administrator

ले. इन्द्रबहादुर तमु क्होला सोंप्रेट्हो तमु इतिहासको लागि एउटा महत्‍वपूर् [ ... ]


तमु एकता दिवस - माघ ६ गते
25/12/2008 | Administrator

माघ ६ गते तमु एकता दिवस मनाऔं
केजु तमु, तनहुँ तमुहरुलाई विभाजन गरी सत्ता हत्य [ ... ]


''सिमिं'' (मृतक) को लागि जान्नै पर्ने संस्कारहरु
06/03/2009 | Netra tamu

 जस्तोसुकै युग र बैज्ञानिकहरुको अविस्कार भए पनि जन्म र मृत्युलाई कसैले रोक [ ... ]


Other प्‍येताँ ल्‍हुताँ Articles